पिपिएल र भिजी अटोमोबाइल्स प्रालि बीच सम्झौता

|
पिपिएल र भिजी अटोमोबाइल्स प्रालि बीच सम्झौता


पिपिएल र भिजी अटोमोबाइल्स प्रा.लिबीच सहकार्य भएको छ । सुजुकी मोटर्सको आधिकारीक आयतकर्ता तथा वितरक भिजी अटोमोबाइल्सले पिपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई १५५ सिसीको सुजुकी जिक्सर मोटरबाइक उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक प्रदान गरिनेछ । नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको सम्भवतः यो पहिलो पटक हो । यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

नेपाली क्रिकेट विकासमा योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रालिले सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न गइरहेको छ ।  ६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ । पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।