अनिल शाहको शतकमा नेपालको विशाल जित

|
अनिल शाहको शतकमा नेपालको विशाल जित


तस्वीर सौजन्य : रमन शिवाकोटी

युरोप भ्रमण अन्तर्गतको आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लण्डन एघारलाई २२३ रनको विशाल जित दर्ता गराएको छ । युवा अनिल शाहले शतक प्रहार गरेको खेलमा अनुभवी शरद भेषवाकर आफ्नो शतकबाट २ रनले चुकेका थिए ।

इस्ट एघारले टस जितेर नेपाललाई ब्याटिंगमा बोलाएको थियो । सुवास खकुरेल ८ रनमा, ज्ञानेन्द्र मल्ल ९ रनमा र कप्तान पारस खड्का ४ रनमा पवेलियन फर्केपछि नेपाली ब्याटिंग धर्मराएको थियो । त्यसपछि अनिल शाह र शरद भेषवाकारले चौथो विकेटको लागि २१२ रनको साझेदारी गरेका थिए । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतले १३१ रनको पारी खेलेका थिए । शरद भने ९८ रनमा आउट हुँदा आफ्नो शतकबाट मात्र २ रनले चुकेका थिए । दिपेन्द्र ऐरी र रोहित पौडेलको ब्याट नचल्दा सोमपाल कामीले २० बलमा २९ रनको योगदान दिएका थिए । नेपालले निर्धारित ५० ओभरमा ३३८/८ को योगफल तयार पारेको थियो ।

३३९ रनको लक्ष्य पछ्याउने क्रममा इस्ट एघारको टोली ३८.५ ओभरमा मात्र ११५ रनमा अलआउट हुँदा नेपालले २२३ रनको विशाल जित हात पारेको हो । इस्ट एघारको लागि ड्यारेन आइरनसाइडले ३८ रनको योगदान दिएका थिए भने आकाश राजीले २७ रन बनाएका थिए । नेपालको तर्फबाट शक्ति गौचनले ९.५ ओभरमा ५ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका थिए । करण केसी र ललित राजबंशीले २/२ विकेट लिँदा सोमपाल कामीदिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

हाल युरोप भ्रमणमा रहेको नेपाली टोलीले यसअघि पहिलो अभ्यास खेलमा जित हात पार्दा दोस्रो खेलमा भने पराजय बेहोरेको थियो । नेपालले भोलि इस्ट लण्डन सार्क विरुद्ध अभ्यास खेल खेल्नेछ भने त्यसपछि जुलाई २९ मा त्रिकोणात्मक सिरिज खेल्नेछ ।