विनोद र करण चम्कँदा नेपालद्वारा हंगकंग पराजित
Hongkong vs Nepal, 4th Match - Oman Pentangular T20I Series
यही अक्टोबर ५ देखि ओमानमा शुरु भएको ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले हंगकंगलाई ४ विकेटले पराजित गरेको छ । हंगकंगले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
टस हारेर पहिले बलिंग गरेको नेपालले हंगकंगलाई पहिलो इनिगंमा १२५/६ मा समेटेको थियो । नेपालका लागि करण केसीले ४ ओभरमा २६ रन खर्चँदै ४ विकेट लिए । अविनाश बोहोराको नाममा १ विकेट रह्यो । हंगकंगका लागि बकास वर्कारले सर्वाधिक ३७ रन बनाउँदा किन्चित शाहले ३१ र निजाकत खानले २३ रन बनाए।
१२६ रनको विजयी लक्ष्य पछ्याएको नेपालको शुरुवात राम्रो हुन सकेन । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने अर्का ओपनर पवन शर्राफले १० रन बनाए । तेस्रो नम्बरमा ब्याटिंग गरेका आरिफ शेखले २१ रनको योगदान दिए । विनोद भण्डारीले आरिफ शेखसँग पाँचौ विकेटको ५९ रनको साझेदारी गरेपछि नेपालको पारीले केही गति लिएको थियो । विनोद ४८ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतले ५८ रनमा अविजित रहे ।
यस जितसँगै नेपाल जारी प्रतियोगिताको अंकतालिकामा दोस्रो स्थानमा पुगेको छ । दुई खेलमा दुई जित हात पार्दै ओमान पहिलो स्थानमा रहेको छ ।