पोखरा, पीपीएल र क्रिकेट
गत कात्तिक २० गते पोखरा प्रिमियर लिगको फाइनल खेलमा बिक्रम भुसालको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले फाइन लेगमा चौका प्रहार गर्दै पोखरा पल्टनलाई पीपीएलको उपाधि दिलाएसँगै नेपाली घरेलु क्रिकेटमा अर्को नयाँ इतिहास लेखिएको छ । पीपीएलको सफलतापछि फुटबलको क्रेज रहेको सुन्दर नगरी पोखरामा क्रिकेटले आफ्नो यात्राको सुरुवात गरेको छ । यस प्रतियोगितामा दर्शकको सहभागिताले पोखरालाई क्रिकेटको अर्को गन्तव्यका रुपमा स्थापित गराउन सकिने प्रचूर सम्भावना पनि देखाएको छ ।
प्रतियोगिता स्थलको छनोट
नेपाली घरेलु क्रिकेटमा अनेकौँ क्रिकेट प्रिमियर लिगहरु सञ्चालन भइरहेको अवस्थामा पोखरा प्रिमीयर लिगको थालनी भएको छ । काठमाडौँमा सञ्चालन हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) का साथसाथै पीपीएलले पनि आफूलाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताको सूचीमा पार्न सफल भएको छ । राजधानी काठमाडौँ र क्रिकेटमय धनगढीलाई छोडेर पोखरा जस्तो क्रिकेटमा खासै नभिजेको शहरमा क्रिकेटको यो महाकुम्भ आयोजना गर्ने जमर्को गर्ने आयोजक अवश्य पनि धन्यवादका पात्र हुन् ।
राष्टिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पहिलो रोजाइमा पर्ने पोखरा शहरलाई पनि भाग्यमानी नै मान्नुपर्छ यस्तो प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेकोमा । मनोरम हिमश्रृंखलाको काखमा रहेको पोखरा रंगशालाले कसको चाहिँ मन नलोभ्याउला र । पीपीएलसँगै क्रिकेटको माध्यमबाट विदेशी तथा स्वदेशी पर्यटनमा टेवा दिने नयाँ आयामलाई बढावा दिनु अबको चूनौती हो भन्दा दुइमत नहोला । वर्षमा एउटा प्रतियोगिता आयोजना गरेको भरमा यो लक्ष्य पुरा हुने पनि होइन । यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु जरुरी छ ।
स्तरीय मैदान र पिच
पीपीएलले सबैभन्दा बढी प्रशंसा पाएको पाटोमध्ये एउटा हो स्तरीय मैदान तथा पिचको अवस्था । आयोजकका अनुसार निकै छोटो समयमा नै तयारी गरिएको भए तापनि मैदान र पिचको अवस्था निकै राम्रो रहेको थियो । फास्ट आउटफिल्डले ब्याट्म्यानलाई सहायता दिइरहेको थियो भने बिहानको समयमा पिचमा रहेको ओसले बलरलाई पनि त्यत्तिकै फाइदा दिइरहेको थियो । प्रतियोगिताका लागि भनेर तयार पारिएका चार वटा पिचले पनि आ आफ्नै विशेषता देखाएका थिए । कुनै पिचले फास्ट बलरलाई मद्दत गरिरहेको थियो भने कुनै पिचमा ठूलो स्कोर तयार भइरहेको थियो । समग्रमा भन्नुपर्दा क्रिकेटका लागि अनुकूल कन्डिसन थियो ।
मैदान तथा पिचको अवस्थालाई अझ सुधार गर्दै लानु अबको कदम हुनुपर्नेछ । त्यसमाथि, अरु प्रतियोगिता तथा खेल आयोजना नहुने हो भने मैदानको स्थिति अझ बिग्रँदै जाने त पक्का छ । त्यसैले मैदानको अवस्थालाई सुधार गर्न अहिलेको सन्दर्भमा स्थानीय तहबाट पनि केही जागरुकताको खाँचो रहेको छ । आफ्नो मैदानको सुधारका लागि सधैँ ठूला प्रतियोगिताको मुख ताक्नु मुनासिब देखिँदैन ।
आयोजकका रुपमा खेलाडीको सक्रियता
आधिकारिक रुपमा कतै नाम नआए तापनि नेपाली टोलीका सिनियर खेलाडीहरु पनि प्रतियोगिता आयोजकका रुपमा संलग्न भएको जस्तो देखिन्थ्यो । पारस खड्का तथा ज्ञानेन्द्र मल्लको खेल आयोजना स्थालमा देखिएको संलग्नताले खेलाडीको भूमिकाभन्दा बढी अग्रसरता देखिएको थियो । प्रतियोगिता सुरु हुनु भन्दा अगाडी पनि पारस खड्का तथा ज्ञानेन्द्र मल्ले पटक पटक मैदान तथा पिचको अवलोकन गरेको तथा प्रतियोगिता चलिरहँदा देखिएको सक्रियताले उनीहरुको आयोजकत्व स्पष्ट रुपमा दर्शाइरहेको थियो । स्वयम् खेलाडीहरुको यस्तो संलग्नतालाई पनि निकै सकारात्मक रुपमा लिइएको छ र आगामी दिनमा पनि यस्तो सक्रियता बढ्दै गएमा समग्र नेपाली क्रिकेटकै लागि हितकारक हुनेछ ।
अन्र्तराष्टिय क्रिकेट मैदानको खाँचो
धेरै अघि समयदेखि चर्चामा रहेको विषय हो नेपाललाई न्युट्रल भेन्युको रुपमा स्थापित गराउने । पीपीएलको आयोजना पश्चात् पोखरालाई न्युट्रल भेन्युको रुपमा प्रयोग गर्नुपर्ने बहसहरु शुरु भएका छन् । तर यसको लागि स्तरीय क्रिकेट मैदानको खाँचो देखिएको छ । पोखरा रंगशालामा मैदानको स्तरोन्नति, दर्शक बस्ने प्याराफिटको उचित व्यवस्था, आवश्यक कर्मचारीको व्यवस्था, पेभेलियन तथा बाथरुमको व्यवस्था, डीजिटल टीभी तथा स्कोरबोर्डको व्यवस्था इत्यादि पक्षमा सुधार गर्न सकेको खण्डमा यस मैदानलाई न्युट्रल भेन्युको रुपमा स्थापित गराउन सकिने प्रबल सम्भावना छ । यसबाहेक आवश्यक पर्ने दर्शकको उपस्थितिलाई पीपीएलले केही मात्रामा पूरा गरेको आभाष भएको छ ।